परिचय

नौमुरे बहुउद्देश्यीय आयोजना स्टोरेज सहितको जलविद्युत तथा सिँचाइ आयोजना हो। नौमुरे बहुउद्देश्यीय आयोजना अन्तर्गत नौमुरे जलविद्युत योजना २१८.३४ मेगावाट, लमाताल जलविद्युत योजना ८ मेगावाट र सुरैनाका जलविद्युत योजना ५४.७ मेगावाट गरी तीनवटा जलविद्युत आयोजना छन् । नौमुरे मुख्य बाँधस्थल माडी र झिमरुक खोलाको संगमबाट करिब ३ किलोमिटर तल प्यूठान जिल्ला र अर्घाखाँची जिल्लाको भूभागमा २७° ५५' ३३' उत्तरी अक्षांश र ८२° ५०' ००" पूर्वी देशान्तरको बीचमा प्रस्ताव गरिएको छ भने लमाताल रिरेगुलेटिङ बाँधस्थल प्युठान र अर्घाखाँची जिल्लाको भूभागमा २७° ५२' ०५" उत्तरी अक्षांश र ८२° ४८' ००" पूर्वी देशान्तर र नौमुरे मुख्य बाँधको करिब ६ किलोमिटर तलतिर अवस्थित छ । १५४ क्युविक मिटर/सेकेन्ड डिस्चार्ज सहितको नौमुरे जलविद्युत योजना माथिल्लो भागमा छ। यसको डाउनस्ट्रीममा लमाताल जलविद्युत योजना छ। लमाताल जलविद्युत योजनाको ब्यारेजले बाँके र देउखुरीका विद्यमान सिँचाइ आयोजनाहरूका लागि राप्ती नदीमा छोड्ने पानीको प्रवाहलाई पुन: नियमन गर्छ। सुरैनाका जलविद्युत योजना र प्रस्तावित कपिलवस्तु सिँचाइ आयोजनाको २९,७३६ हेक्टर सिँचाइका लागि ४१.६ क्युविक मिटर/सेकेन्डको डिस्चार्ज डाइभर्ट गरिएको छ । सुरैनाका पावरहाउस क्षेत्र २७° ४४' २४” उत्तरी अक्षांश र ८२° ५०' १२” पूर्वी देशान्तर, कपिलवस्तु जिल्लाको सुरैनाका गाउँमा, सुरै नाला (खोला) को दाहिने किनारमा पूर्व-पश्चिम राजमार्गको पश्चिम तर्फ प्रस्ताव गरिएको छ । यसबाहेक, लमाताल ब्यारेजको करिब २२ किलोमिटर तल प्रगन्ना र बड्कापथ सिँचाइ आयोजनाको इन्टेकहरू छन् भने सिक्टा सिँचाइ आयोजनाको हेडवर्कस करिब १२६ किलोमिटर तल पर्दछ। नौमुरे बहुउद्देश्यीय आयोजना अन्तर्गत प्रस्तावित कपिलवस्तु सिँचाइ प्रणाली (२९,७३६ हेक्टर) सहित देखुरी उपत्यका (१०,८०० हेक्टर) र बाँके (४२,७६६ हेक्टर) विद्यमान सिँचाइ प्रणालीहरू हुन्। साथसाथै यस आयोजनाले मत्स्यपालन विकास, बाढी नियन्त्रण, पर्यटन र मनोरञ्जन विकासमा समेत योगदान पुर्याउने प्रस्सत सम्भावनाहरु छन् ।